ओझेल भित्रका सचेतना अभियान
No icon

सनराइजर्स हैदराबादकाे अर्काे जित, चेन्नइ सुपर किङ्सलाइ ७ रनले पराजित

असाेज १७, शनिबार।

युएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटकाे १४ औँ खेलमा गएराति सनराइजर्स हैदराबादले चेन्नइ सुपर किङ्सलाइ ७ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हात पारेको हो । 

दुबइ अन्तर्राष्ट्रिय क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ६५ रन बनाएको थियो । पहिलो ओभरमा इंग्ल्यान्डका विकेटकिपर ब्याट्सम्यान जोनी बेइस्ट्रो शून्य रनमा आउट भए पनि हैदराबादको इनिङ्स उकास्नका लागि प्रियम ग्रागले नटआउट ५१ रनको अर्धशतकीय पारी खेले । उनले २६ बलमा १ छक्का र ६ चौकाको मद्धतमा ५१ रन बनाए । यस्तै, अभिषेक शर्माले ३१, मनिष पण्डेले २९ तथा कप्तान डेविड वार्नरले २८ रनको योगदान दिए ।

चेन्नइका दीपक चाहरले दुई तथा शार्दूल ठाकुर र पियुस चावलाले समान एक-एक विकेट लिए ।

१६४ रनकाे लक्ष्य पच्छ्याउने क्रममा चेन्नाईको टोलीले ५ विकेटको क्षतिमा १५७ रन मात्र बनाउन सक्यो । चेन्नइका अाेपनर सेन वाटसनले १ रन मात्र बनाउन सके ।  तेस्रो नम्बरमा ब्याटिङमा आएका आम्बाती रायुडुले फाफ डु प्लेसिससँग मिलेर टोलीको स्कोर २६ रनसम्म पुर्याए । रायुडु पनि टी नटराजनको बलमा आउट भए । उनले आउट हुनअघि ८ रन बनाएका थिए । छैटौं ओभरको अन्त्यमा एक रन लिने क्रममा प्लेसिस २२ रनमा रन आउट हुन पुगे । पाँचौं विकेटका लागि महेन्द्र सिंह धोनीसँग ७२ रनको साझेदारी गरेका रविन्द्र जडेजाले अर्धशतक पुरा गर्ने बित्तिकै टी नटराजनको बलमा स्क्वार लेगमा अब्दुल सामदको हातबाट क्याच आउट भए । आइपिएलमा सर्वश्रेष्ठ पारी खेलेका जडेजाले ३५ बलमा २ छक्का र ५ चौकाको सहयोगमा ५० रन जोडे ।

अन्तिम ओभरमा चेन्नइलाई जितका लागि २८ रन आवश्यक रहेकामा पहिलो बलमा अब्दुल सामदले वाइड फालेका थिए भने दोस्रो बलमा धोनीले दुई रन लिए । यस्तै, तेस्रो बलमा चौका प्रहार गर्दा चौथो र पाँचौ बलमा धोनी र साम कुरानले एक एक रन लिए । यस्तै अन्तिम बलमा छक्का प्रहार गरेपनि ७ रनले पराजित हुन पुग्यो । धोनी ४७ र कुरान १५ बलमा नटआउट रहे ।

हैदराबादका टी नटराजनले दुई तथा भुवनेश्वर कुमार र अब्दुल सामदले समान १-१ विकेट लिए ।

जितसँगै हैदराबाद ४ खेलबाट चार अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । चार खेलमा तीन खेलमा पराजित भएको चेन्नइ भने पुछारमा रहेको छ ।

Comment As:

Comment (0)